मेरो
उत्पत्तिको उन्मेष लाई नियाल्दा त्यो त्यति रसात्मक रहेन, तर अस्तित्व लाई नकार्न सकिदैन । म कहिले
काहीं निमग्न हुन्छू र उषाको दिप झैं क्षितिजमा उदयन्मुख प्रकास लाई छुन्छु, हृदयले । हरेक प्राणीले अस्तित्वमा ‘स्व’ को परम्परालाई स्वभावत: मुल्याकंन गर्दा जन्मको आवेग लाई अवमुल्यन गर्नु हुन्न
। मैले केहि निमेष आँखा उघार्दा शैशवको कुनै क्षण लाई अवरोहमा देख्छू । म तल बग्छु, रसातलमा । म आफ्नै अन्वेषण मा लाग्छु, म कता छु ?
म चिन्तन गर्छु जुन बेला म अचिन्तन हुन्छु, वास्तवमा त्यस क्षण के चिन्तन मा
हुन्छु-- अनन्त बेहोसिबाट ब्युँतिए झैँ आकास तल झरेको छ । वादल बिना । तलाउको
छेउमा ब्यूँझिएको छु । दृश्य मा एक मत्स्य कन्या घना कुहिरो भित्र छोपिएकी छे, मानौँ
त्यसको छाँया आँखाको नानीमा उठेको हो । मन्त्रोच्चारण को लघु स्वर मस्तिष्कको
भित्र भतभत पोले झैँ हुन्छ । के म त्यस जादु झैं शब्दको भित्र देख्न सक्छु । अवश्य
सक्छु ! शब्दहरू त्यही कन्या झैँ नग्न छन् । भिजेका अक्षहरू ।
म कल्पना गर्छु,
भोलि या पर्सि बिहान तिनिहरूबाट वाष्प झैँ शीतोष्ण कणहरू उसको छाला बाट घुम्दै
घुम्दै निस्कन्छन् । बिलाउँछन् कतै ! कतै वरपरै । कन्याको नेत्रमा कुहिरो लागेको छ
तैपनि उ आफ्नो हात, हत्केला या औँलाहरू मेरो अक्षरहरू भित्र छिराउँछे । म सोच्छु –
त्यो कहाँ गयो, मन्त्रोच्चारण गर्ने मानव । त्यही थियो । म कन्याको स्पर्शहेतु निस्तेज
हुन्छु- म उसको नाडीमा बालाहरू देख्छु—झिलमिल झिलमिल गर्दै ती पनि बादल मा शीतोष्ण
थोपो झैँ माथि पुग्दै झर्दै गर्छन् । अब, म सोच्न सक्दिन । म केही लेख्न बसेको थिए
। सोफामा नाङ्गै रहेछु । झ्याल खुल्ला छ । पवन ले पारदर्शी पर्दा लाई रोक्न किन
सक्दैन । मेरो आँखा दलिनमा पुगेर अडिन्छ, अनि पो झस्किन्छु । आत्मा तुर्लुगं झुन्डिएको
छ- आफ्नै मन । उठ्दै आत्मामा कर्के नजर पार्छु- त्यही झुण्डिको छ, आत्महत्या गरेको
मानिस जस्तो । वाद-विवाद गरुँ झैँ लाग्यो तर सुन्तलाको रस पिए । आफ्नो आँत सगं कति
ढाँट्न सकिन्छ र ! त्यो निशुक्र दलिनमा आत्मफँडा फिजाएर नाग झैं बसेको छ, थियो –
त्यो वर्तमान कसरि हुनु । यो बिगत थियो- छ । म त्यस झुन्डिएको जिनिसलाई चिम्टाले टप्प
पार्छु र झ्याल बाहिर हुत्याउँछु, ठीक त्यसै बेला कोठा देखभाल गर्ने केटी भित्र
छिर्छे । ‘चिम्टाले के समाएर हिँडिरहनु भा’ को छ?’ उ सोध्दै सोफामा मा बस्छे ।
मेरो आँखाहरू कता पुगे । सोफामै छुटेछन् । उसलाई भन्छु – तिमि मेरो आँखामा बस्यौ। उ
हत्तपत्त उठेछ । एक थान नजर त्यही थिए । चक्षुहरू- ती केटीलाई नै हेर्छन् । उ खप्परबाट
बाहिर निस्किएका ति आँखाहरू देखि त्रसित हुन्छे । उ भान्सा मा गई । म उसको पैताला
उतै तिर घिस्रिएको स्मरण गर्छु । मैले चिया बनाउन उमालेको पानी को भाँडा बोकी उ फर्किन्छे
। आँखाहरु टुलटुल उसलाई हेर्छन् । परै बाट उम्लिएको पानी जोर आँखा मा हुत्याउँदै उ
भन्छे । ‘भरे लाई के खाना बनाई दिउँ ?’ म केटीको व्यवहारले क्रुद्ध हुन्छु तर
उसलाई केही फरक पर्दैन । उ भान्छा पुग्छे र खाना बनाएर फ्रिजमा हालिदिन्छे । म
उसलाई देख्छु? अवश्य देख्छु । कुहिरो भित्रकी कन्या एक मानवको शरीर प्रमर्दनमा ब्यस्त
थिई । मस्तिष्क पनि अजीव हुन्छ । म नित्सेको पुस्तकलाई टेबिलमा राख्छु । तलाउको
चारैतिर मन्त्रोचारण झैँ गम्भीर प्रलाप सुनिन्छ । म केटीलाई प्रश्न गर्छु – के
प्रश्न ? म पहिले यकिन गर्न चाहन्थे म के प्रश्न गर्न चाहन्छु उसलाई । आकर्षण
प्रारब्ध हो । पहिले म उसको मन जित्न चाहन्थे । झ्याल छेउ गएर उभिन्छु र जगत् लाई
नियाल्छु । उ फेरि सोफामा बस्न पुग्छे । बसि हाल्नु भन्दा पहिले तातो पानीले
उसिनिएको एक जोर आँखाहरू लाई उ मैले झैँ चिम्टाले एक एक गरि उठाउँछे र भान्छाको
कुँडदानिमा फ्याँकि दिन्छे । म केटीको प्रयत्नलाई खुब उत्साहित भएर हेर्दिन । किनकी
मेरो आँखा त उसले भर्खर फ्याँकिन र? उ भन्छे – खोइ तपाइका मैलो लुगाहरू दिनुस्,
भोलि धोएर ल्याई दिन्छु । उ मेरो कोठामा जान्छे । भान्छा को फोहोर दिनुस् म फालिदिन्छु,
तपाई त निस्किनु हुन्न होला हिजो? ‘हिजो? – कस्तो हिजो आज भोलि भन न’ म मनमनै केटीलाई
जवाफ फर्काउँछु । भान्छामा फोहरको बाल्टीमा म आँखा गाड्छु । खोइ त आँखाहरू ! कहाँ
गए केटीले फालेकी आँखाहरू? म केटीलाई सोध्छु – खोइ मेरा आँखाहरू? खोइ केटी ? तपाइले
देख्नु भएन?
म एउटा ब्लग लेख्न बसेको थिए । नित्सेको म्याडनेसको । उसको नाहिलिज्म् को । म
मेरो आँखाहरू फिर्ता चाहन्छु । म मेरो आत्मा फिर्ता चाहन्छु । त्यो केटी फेरि
भित्र छिर्छे । ‘मैले तपाइको लुगा धोएर ल्याई दिए ।‘ म निर्बन्ध भान्सामा अलमलिएको
देखेर उ सोध्छे । ‘आज खाना तपाई आफैँ बनाउनुहुन्छ ?’ म केटीको प्रश्न ले विवर्ण
हुन्छु । ‘भर्खर खाना बनाएर गएकी होईनौ?’ म केटी सँग रिसाउँछु । ‘मलाई तपाइको
म्याडनेस मन पर्छ’ केटी पेच हान्दै मलाई भान्छा बाट पन्छाउँछे । म यो केटी सँग
कहिले विवाद गर्न सक्दिन । यसको ह्युमरले मलाई किन हो संकिर्ण बनाउँछ । म अर्को
कोठामा छिर्छु । क्यालेण्डर हेर्छु । भित्तामा जनम कुण्डली चाहिँ झुन्डिएको छ । खोइ
क्यालेण्डर? खोइ अंकहरु? आज कुन दिन हो? केटीको
मजाकले मस्तिष्कको शिराहरू सुनिन्छन् । म त्यही बाट कराउँछु । ‘खोइ क्यालेण्डर?’
कुनै आवाज आउँदैन । जवाफ छैन । म भान्छामा पुग्छु । खाना खाएको जुठो भाँडाहरु
टेबलमा यत्तिकै छन् । केटी त्यहाँ छैन । ठिकै भयो । केटी मेरो टाउको दुखाई बनेकी
थिई । म बेडरुम मा फर्कन्छु ।
0 Comments