नि:श्रेयस हुनु जीवको अधिकार हो । कस्तो अधिकार? प्रश्न उठ्न सक्छ । कुरुक्षेत्रमा अर्जुन यस्तै कष्टबाट मुक्त्त हुन खोजेको थियो, नि:श्रेयस हुन खोजेको थियो तर कृष्णले आफ्नो माया(dissimulation) ले छोपि अर्जुनलाई ‘कुरू’ यानेकी ‘गर’ को रहस्य बताई दिए र अन्तमा महाभारतको लडाई लडियो । कृष्णले गीतामा के भने म त्यो यहाँ भनि रहन चाहँदिन, यो सबैलाई अलि अलि थाहै छ । म अर्को क्याजुअल लेख लेख्न खोज्दैछ जहाँ ‘‘बिषयसुखनुभुति को लोप’’ को बारेमा लेख्छु । अर्जुनले आफ्नो कुलको विनाश नगर्ने वाचा लिदाँ कृष्णले किन अर्जुनको अधिकार खोसे र युद्द गर्न बाध्य पारियो ! यस्तो ‘लोपोन्मुख’ मानसिकता सधैँ अपरोक्ष हुँदैन । आधुनिक समाजमा यस्तो शुष्क मनोविकार बढ्नु स्वाभाविक हो । वयस्कता को एक चरणमा चपला अबला रम्भा तिलोत्तमाको रूपक ले सुखको एक यस्तो नगरीमा पुर्याउँछ जहाँ ‘शुष्क’ भन्ने अनुभूति नै रहन्न । 
संसारमा यस्तो शुष्कताको उदाहरण नभएको होइन, ऐतिहासिक कायान्तरणमा अनगिन्ती दृष्टान्तहरू छन् जसले विषयसुखको लोपको वाबजुद कर्मको उचाइलाई भेटेका छन् । शारीरिक हस्तक्षेप को तुलनामा यस्तो बेला दायित्व प्रबल रहन्छ भने त्यसलाई निष्काम भनिन्छ जसको बारेमा कृष्णले मानसिक व्याकुलतामा रहेको अर्जुनलाई उपदेश गरेको थियो । यस्तो संघातबाट बच्न कहिले कहिले मानिस आफ्नो पद लाई स्वयम् पिडामा धकेल्न खोज्छ जसले ‘काम्यमा’ को सकारात्मक लाई निरुदेश्य पारिदिन्छ । यहाँ काम्यताको अर्थ आत्मिक सुखानुभूति सँग जोडिएको कर्म हो । ‘अन बिईगं ईल’ मा भर्जिनिया वुल्फ को स्वाभाविक आत्मिक लोपान्मुख लाई पढेकै हो । 

आत्मा र पदार्थको बीचको बहस निकै पहिले देखि चल्दै छ । प्रपञ्च सृष्टिलाई मन आत्मा या पदार्थको संयोगमा हेरिन्छ । के हो त पदार्थ ? के हो आत्मा ? आत्म र पदार्थको धारणामा डेकार्ट को विचार अलग छ । वेदान्त प्रवर्तक रामानुजाचार्य ले ११ औ शताब्दीमा एक दर्शनको प्रवर्तन गरे: विशिष्टाद्वैत । जसले आत्मा र प्रकृति फरक नभई ब्रम्हकै दुई स्वरूप हो भन्छ र आत्माको उदेश्य पूर्तिको लागि शरीर ले कार्य गर्छ । यस्तै विचार पारमेनिडेसले पनि राखेको थियो तर उसले बहुलतामा भने विश्वास राखेन । जे होस् आत्माको उदेश्य पूर्तिको लागि शरीर ले काम गर्छ, त्यसो भए आत्माको चाहना के हो त ? मन या चित्त अभौतिक तत्व हो जसले कुन भौतिक रूपको चाहनालाई स्विकार्छ होला? आत्माको चाहना पूर्तिको लागि शरीरले रामनुजले भने झैँ आफैँलाई समर्पण गर्छ? 
१३ औ शताब्दीको युरोपमा स्वयम् शरीरलाई कष्ट पुर्याउन चाहने स्त्रीहरू हुन्थें जसले आत्मा वा ईश्वरको चाहना भएकोले त्यसो गरेको हुन्थें जसलाई  आधुनिक भाषामा Anorexia nervosa भनिन्छ । रुडोल्फ एम. बेल ले आफ्नो पुस्तक ‘holly anorexia’ मा यस किसिमको विषादलाई लेखेको छ । जब सम्म हामी भोको हुँदैनौ तब सम्म मस्तिष्कले जति बल गरे पनि भोक को अनुभव गर्दैन । वाञ्छा को निरन्तर अपकर्षणले कुनै क्षण मानिसलाई त्यही ‘लोपोन्मुखता’ मा पुर्याउँछ । नित्सेले तात्कालिन युरोपको मर्दै गएको भोक लाई आफ्नो दर्शन बनायो । मानिसमा मर्दै गएको ‘डायोनिजियन’ लाई नित्से ले कलंक भन्दै सुकरातलाई समेत यस को ‘कारण’ मा मुछ्यो । भोक सृजना गर्न मानिसले मिथको निर्माण गर्छ । महाभारत को कथाले आर्यावर्त को मूल निवासीको स्पृहालाई परितुष्टि गर्न कृष्ण (कालो वर्ण) लाई निर्माण गर्यो । कृष्ण आदिवासीको द्योतक हो । मनुको न्यायलाई नित्सेले ‘विल टु पावर’ को रूपमा युरोपलाई बाँड्यो । यी सबै दृष्टान्तका नायकहरू भोक मत्थर गर्ने कालिगड हुन् । हरेक प्राणी जीवनको कुनै क्षण यस स्तरको ‘आत्मिक लिप्सा’ बाट निष्पन्न हुन्छ, हृदयमा भरिदैं गएको अनौठो चाहनालाई कसले रोक्न सक्छ ? तर आधुनिक शताब्दीले अमरावतीलाई भुल्दै छ । किन कसैले रुबिक क्युब सल्भ गर्न सक्छ कसैले सक्दैन ? किन सबै डार्विनले झैं सोच्न सक्दैनन्
आईन्सटाईन ले आयाम लाई बुझ्न सिकायो तर आयामलाई यमन गर्न सिकाएन । डार्विनिले हाम्रो पुच्छर त खसालिदियो तर मस्तिष्कको ‘मर्कट’ लाई उसले अवक्रमण गर्न सकेन । मानिसले पुराण बनायो,  फिलोसफि बनायो, धर्म बनायो, राजनीति बनायो तर यी सबको पछाडि उसले ‘स्वतन्त्रता’ वा मौलिकतालाई छोडी दियो । के हो हाम्रो मौलिकता? मौलिकताले मात्र ‘सौन्दर्य’ को उद्घाटन हुन्छ । ‘कारणको तिर्सना’ ले त्यो मौलिकताको जन्म दियो । द्यौष्पिता (ग्रीक देवता zeus समान) ले आर्यहरूको प्राचीन उत्सुकता लाई देखाउँछ । इन्द्र तीनै देवताका छेरा हुन् । प्राचीन मानवहरू अब विषयसुख को अनुभूति गर्न थाल्छन् । प्रकृति प्रेमको निष्पत्ति ले हृदयमा मौलिक सुखानुभूतिको अनुभव हुन्छ । जयदेवको गीत गोविन्द पढ्दा मलाई प्रेम र 'हृदयको-नाच' अनुभव हुन्छ । जसलाई हामीले भुल्दै छौं । आर्यहरूले इन्द्र प्रति देखाउने प्रेमले जीवन उत्क्रांति को प्राथमिक चरणलाई दर्साउँछ । आधुनिक ईन्सानहरुले महालिगिं शिवको निराला नृत्यलाई अब नाच्न सक्दैनन् जसलाई नित्सेले भनेको नृत्यलाई बुझाउथ्यो । अब त्यो नाच रहेन त्यही बाट मानिसमा बिषयसुखानिभुतिको अवनतीलाई देख्न सकिन्छ। इन्द्रको अमरावती लाई महसुस गर्न सक्ने आर्यहरू अब रहेनन् जसले मलाई क्रुद्ध बनाउँछ । वरुणको ईन्द्रियसुख र अग्निको प्रचुरतालाई अब कस्ले बुझ्ने । कसैले संध्याको मुलायम 'बरुणता' लाई महसुस गर्दैन । प्रभातको उषामा शिवा नृत्य गर्ने हृदय खोइ । आर्यहरूले अमृत दिए तर त्यसको स्वादको 'प्रज्ञा' लाई चाख्न सक्ने रहेनन् ।