'वृत्त्यनुप्रास अलंकारबाट आधुनिकताको जालो पन्छाउँदै छु । व्याकरण मेरो विषय होइन । यसो भनुँ, मेरो विषय कुनै पनि होइन, मानौं म अविषयक छु । आधुनिकताको आरम्भ त्यति खेर भयो जति खेर मानव-भाषा को विकासको व्याकरणी-मेघ नभ स्थल बाट बिस्तारै पन्छियो; अझै पन्छिँदै छ, किनकी भाषा अपरिपक्व हुन्छ, मानव संवेदनलाई सम्बोधन गर्न, यसको अन्त्य छैन । भाषाको यही 'अनन्त' मा मानिसले आधुनिकताको अधकल्चो दर्शनको जन्म गरायो, यसबाट मानव प्रछन्नता सजिलै देख्न सकिन्छ । यहीँ बाट मानवको अधोगति सुरु हुन्छ, आत्म-मनमुटाउ, सकस, भविष्यत ग्लानि, जसको हिमाच्छादन ले लुगलुग काँपेको यस संसार लाई कसरी अनुमान गर्ने ! नव अंलकारले त बरु दुबिधा थप्यो, वैराग्य, केही जान्ने सुन्नेले तत्वदर्शनको व्याख्या सँगै मानवीय संवेदन का जवाफ लाई फर्काउन खोजे तर, असफलता बाहेक तिनिहरूको हातमा केही परेन ।
भौतिक आवेगलाई तत्काल सामाजिक वा मनोवैज्ञानिक उदेश्यमा परिवर्तन गर्ने गुण लाई 'जोखिम' भनिन्छ । आधुनिक-मानिसले जोखिमलाई सामान्यार्थ गर्दै राजनैतिक वा सामाजिक वा मनोगत कल्याणलाई एक असमर्थ आवेग अनि अरुचिकर जीवन शैलीमा बदल्दै छ । 'निनिर्मित' तत्व लाई आधुनिक करणमा दब्दै गएको देख्न पर्ने हविगत लाई म नकार्न सक्दिन, जसको उद्भव लाई न तिमि देख्छौ न तिम्रो स्वार्थले देख्छ । 'Modernity is bitch' नारा लाई नवयुवाले नबुझे सम्म सौन्दर्यात्मक अनुभूतिलाई दृष्टिगत गर्न सक्दैन । पुरातन-मानव (Including-modern-human) ले मानवीकरणको जिज्ञासालाई तत्वगत आधारमा खोज्दा प्राथमिक मूल्य वाष्पीकरण भयो ।

पूर्वकाल देखि नै मानिसले 'सहज ज्ञान' लाई वृत्तिको नियम ठान्दै दार्शनिकता सुरु गर्यो, यधपि स्थौल्य ऐतिहासिक चक्र नै विपरीत गर्नु पर्ने हुन्छ जसले 'सहज-भेद' लाई पुनर्मूल्याकंन गर्न मदत गर्ला । सधैँ नै मानिसले सुख को खोजी गर्यो, नकार्न सकिन्न यसैले दर्शनको पार्दुभाव पनि भयो । नित्सेको 'Human, Al-too-Human' मा दर्शनशास्त्र विज्ञान बाट छुट्टिनु को कारणमा-- 'कुन ज्ञान जसले मानिस यस जगतमा चैन ले बाँच्छ?' यस प्रश्नलाई उसले लेखेको छ ।

प्लेटोको 'सिप्पोजियम'ले ज्ञानको ताण्डवलाई कुन हद सम्म हेर्न मिल्छ भन्ने देखाउँछ- ज्ञानको स्रोतहरू यीनै हुन्- अलौकिक वा Θυμός । एक समय हुन्छ जति बेला मानसिक संवेदनाले 'Geisha' को समीप हुन चाहन्छ- प्रज्ञाको समीप ।

सोफिस्ट जसले पारमार्थिक सत्यलाई अस्वीकार नै गरे । 'सत्य' अर्को अर्थमा ज्ञान लाई बुझ्न डेमोक्रिटस र लुसिपस ले 'अणु' मा संसारलाई विभाजन गरे तर पनि 'आधुनिक अज्ञाता' ज्यूँको त्यूँ छ । सौन्दर्यलाई प्लेटोले 'नन फिजिकल/अनस्तित्व' मा प्लान्ट गरि दियो, यानेकी उसले वास्तविकता मा ध्यान दिएन । त्यसो हो भने, सुन्दरता के हो ? प्रकृति के हो ! यदि जगत् को सार लाई उदेश्य को 'वाद' मा प्रतिफल गर्ने हो भने 'पदार्थ' को अन्तर्निहित वैशिष्ट्य शून्य हुन्छ जसले सौन्दर्यको कुनै छेउमा पुर्याउँदै ।

मानिस रिसाउँदा गला फुलाउँछ र रातो अनुहार पार्छ यसलाई 'दबाब' 'ताप' को परिवर्तनको तत्काल प्रक्रिया भनि बुझ्नु पर्छ । जसलाई आधुनिक विज्ञानमा 'बोयलेज ल' भनि जानिन्छ । ---------



वैदिक साहित्य भनेको 'अन्तर्दृष्टि' हो भने ग्रीस दर्शन 'अनुभववादी' दर्शन हो । यसो किन भने ग्रीक दर्शनमा सवै जसो वर्णन वा 'दर्शन' अभ्यास गत धारणा बाट विकसित छ न कि मानसिक पूरक बाट । दुःखको एक मात्र कारण बुद्दि हो, त्यही बुद्दिले जगत् लाई निगनात्मक अनुमानमा सीमित बनाउन कोसिस गर्यो जसले सौन्दर्यात्मक विलक्षणता लाई कमजोर बनाउँछ ।

ग्रीकमा एउटा शब्द छ 'Eudaimonia', जुन अरस्तुको नैतिक पाठमा एक प्रमुख अवधारणा पनि हो । यसको अर्थ 'खुसी' हुन्छ । म यसलाई बढि समसामयिक बनाउँछु-- जसले अब अर्थ दिन्छ-- जीवन-योजना वा लाईफ फ्लान । नैतिकता को अवधारणाले सन्तुलनमा विचलन ल्याउँछ । यसको आशय अनैतिक आचरणको प्रोत्साहन होइन तर यसले 'योजना' मा केन्द्रित गर्छ, निस्सार विचार माथि प्रोत्साहन गर्छ ।

 म यसलाई एउटा शब्द दिन चाहन्छु- आत्मलगाव । यसले नैतिकता को हाँगाहरू धर्म र परिमाणवादि नैतिकता को अपव्याख्या होइन बरु नैतिकता को 'सुप्रिम' पथमा डोर्याउँछ । जब मानवले प्रशंसा, शक्ति, राजनैतिक कुशलता, जीवनको उदेश्य जस्ता निस्सार पारिभाषिक शब्द-जाल लाई सफलता सँग नाप्छ उसको बाटो भनेकै आत्मलगाव प्रति को हुन्छ । यो निकै डरलाग्दो बाटो हो - डेड एण्ड ।  आत्मलगावको ऊर्जाले अन्ततः: रोगबिषयक समस्यामा लैजान्छ । हामीले सायद दर्शनको अपव्याख्या गर्यौं जसले 'विचार' लाई बन्दी बनायो । प्लेटो वा अरस्तुको 'आदर्श राज्य' अवधारणाले प्राचीन समय देखिनै व्यक्तिगत स्वतन्त्रता लाई 'अदृश्य बन्दी' को रूपमा स्विकार्यो । यसले मानव जीवनको सौन्दर्यानुभुति लाई नोक्सान पुर्यायो जस्तै उत्तर आधुनिक सापेक्षवादले नैतिक विग्रहमा पुर्याएको थियो ।

आधुनिकताको यस जटिल जालोको अर्को कारण भनेको 'अनावश्यक आवेग' लाई कलात्मक अन्वेषण को जलप हाल्नु ले पनि मानसिक संघात थपिन्छ । मलाई सापो को कविताले उत्तेजना थप्छ र त्यही क्षण निरास पनि बनाउँछ किनकी 'कला'मा समयको आवेग अनुरक्त भएको हुन्छ जसको क्षणभंगुरताले म क्लान्त हुन्छु । यसलाई कलामा मात्र लागू नगरीकन यदि राजनैतिक वा वातावरणीय वा सामाजिक आर्थिक संरचनामा लागू गरिने हो भने पनि परिणाम उस्तै हुन्छ । यसले निम्त्याउने अर्को समस्या भनेको  आधुनिक करण हो । नित्सेले कल्पिएको 'त्रासदी' लाई सायद यस परि उल्लेखले सम्बोधन गर्छ । ओथेलो को ईर्ष्या वा म्याकवेथको महत्वाकांक्षा ले यही  त्रुटि लाई दर्शाउँछ ।



आधुनिकता कहिले देखि प्रारम्भ भयो यकिन भन्न सकिन्न तर यसले निम्ताउने समस्यालाई नकार्न भने सकिन्न । कतिपयलाई यसको आधुनिक छद्मरुपले 'सत्-मानव' भन्ने वस्तु लोप हुँदै गएको देखाउँदैन । आधुनिकता जति चरमोत्कर्षमा पुग्दै जान्छ त्यति नै मानवले 'सत्यजित' को मूल्य पनि चुकाउनै पर्छ, सायद यसै अवस्थाको पूर्वाभासले अग्रजी कवि रवर्ट साउथे अथवा जौं ज्याक रुसो ले आधुनिकतालाई परित्याग गर्नु पर्ने विचारमा पुगेका हुन् । रुसोको आत्म बृतांत 'कन्फेसन' (१७८२, सायद यो नै पहिलो आधुनिक आत्मबृतांत पनि हो), एक घटनाको वर्णन छ । रुसो ले अखबार मा 'विज्ञान वा कलाको प्रगतिले नैतिकता को सुधारमा भ्रष्टता लाई सहयोग गर्छ ?’ भन्ने निबन्ध प्रतियोगिता देख्छ । कन्फेनसनमा उसले अगाडि लेखेको छ 'जुन क्षण मैले यो पढेँ म अर्कै ब्रह्माण्ड लाई देख्न पुगेँ, म अर्क मान्छे भए' । रुसोको यस्तो शक्तिशाली 'डिस्कोर्स' मैले अर्को भेटेको छैन । उ निबन्धमा लेख्छ । 'विज्ञान वा कला फलामको माला हो जसले मानवलाई तलतिरै खिच्छ ।' विज्ञानले समकालीन चर्चमूखि असभ्य-अंधबिश्वासि युरोपियन समाज लाई मुक्तिको मार्ग तिर लाँदै गर्दा रुसोको यस्तो विचार क्रान्तिकारी भैदियो जुन 'नव-नवीनीकरण' को सामाजिक युगमा अझै दृढ देखिन्छ । नव उदारवादले वैदिक परिष्कार तिर उन्मुख नभई आत्मलगाव तिर मानवतालाई तानिरहेको छ । दैविय रूपले स्वीकार्य राजशाहि समाज लाई समता वाद तिर लम्केको रुसो लाई मन्जुर थिएन सायद । एज अफ रिजनलाई पार गर्दै सन् १७०० को समय युरोप एज अफ ईनलाईटमेन्ट मा वामे सर्दै थियो ।



आधुनिकताले अझै पैताला टेकिसकेको छैन तर एडमण्ड हसल तथा नित्सेले पटक पटक भनेको आधुनिक संकट मा भने पुग्दै थियो । प्रबोधन वा ज्ञानोदयको युगमा ब्यक्त्तिगत स्वतन्त्रता तथा तर्कको आधारमा क्याथोलिक चर्च लाई युरोपियन त्यस समयले चुनौती दियो । जुन पुनर्जागरण कालले परलोकवाद को स्थान मा मानववाद लाई प्रतिष्ठित गरायो त्यही वाट आधुनिक संकट को बीजारोपण भइसकेको थियो । मध्यकालीन युरोपको संकिर्णता लाई पुनर्जागरण कालले नया मोड दिलायो र एज अफ ईनलाईटमेन्ट अथवा प्रबोधनको युगमा 'मानवता' को नाम मा आधुनिकता लाई विकास गरायो ।



Constantinople को पतन सँगै युरोपमा शरण लीन पुगेका Constantinopolitans ले पुनर्जागरण कालको बिउँ फिँजाए यसको अर्को फाइदा भनेको कोलमबस् , भास्को डि गामा जस्ता नाविकहरूलाई भयो जसले पूर्व एसियाको स्थल मार्ग बीचको विग्रहले गर्दा सामुन्द्रिक पँहुचमा पुग्ग बाध्य गरायो र अमेरिका जस्ता अन्य देशान्तर पत्ता लाग्न आयो । यसो भनु मानवताको नाममा आधुनिकताको विउ छर्ने काम Petrarch बाट  सुरु भयो ।   वेकनको तर्कवादले अझै युरोपियन मानववादमा मल जल को काम गर्यो । साधारण अर्थमा पुनर्जागरण कालले युरोपियन बौदिक आन्दोलन एज अफ ईनलाईटमेन्ट सम्म पुग्यो । कसैले पनि बौदिक आन्दोलनको आवरणमा समुतिर्ण विरोधी स्वन्त्रतालाई चिन्न सकेनन् । बढ्दो धार्मिक सहिष्णुता र बुद्दिवादि चिन्तनले दार्शनिक वा आधुनिक समाजलाई पाशक-काल मा हेलि दियो । मानवको ज्ञान प्राप्तिको सहजबृत्तिले डेकार्टको जन्म गरायो । डेकार्ट सत्य र प्रज्ञालाई प्राप्त गर्न अधीर थियो तर स्कोलास्टिक विचारलाई अप-दलन गर्नु सजिलो युद्द थिएन, समय सोचे भन्दा जटिल थियो, मानिसहरू दूरबीनबाट नयाँ अंतरिक्षलाई नियाल्नु भन्दा अरस्तुको मेटाफिजिक्स वा पोलिटिक्स् मै वेदान्ती हुन चाहन्थे । डेकार्टको कामातुर दर्शनले (म डेकार्टको दर्शनलाई 'salacious corpus' भन्न रुचाउँछु किनकी यसको उत्तेजनाले तत्कालीन दर्शन-क्षेत्रमा satyrion वा अश्वगन्धाले झैं मानसिक पुरुषत्व मा धावा बोलेको थियो ) राम्रै सँग प्रतिस्पर्धा गर्यो ।




इतिहासको सम्पूर्ण दार्शनिकलाई अध्ययन गर्ने हो भने सबैको धेय 'जगत' को तर्क संगत प्रज्ञा-बोध नै हो जसले सामान्यतया प्रणाली गत अथवा संगठित ज्ञान को सट्टा प्रकृति वा मानव विज्ञान वा अस्तित्व माथि 'मनोगत अविश्वास' थपि दिन्छ । विगतको समय रेखाले यथाक्रमिक बोधको अन्वेषणमा पुग नपुग पाँच हजार वर्ष बिताई सकेको छ तर सम्पूर्ण सहज बोध वा दर्शन अनुमानको कार्य कारण माथि टिकेको थियो । यसरी हेर्ने हो भने यस किसिमको मानसिक दृश्यले मानिसमा थप जटिलता मात्र थप्छ । यही जटिलता हल गर्न आधुनिक दर्शनको जन्म भयो जसले धेरै जसो तत्वगत प्रश्नको उत्तर सहि सहि दियो । धेरै जसो वैज्ञानिक सत्यको त्रुटिमा डेकार्ट 'विपरित-सहजबोध' लाई कारक मान्छ । तर्कवादि र अनुभववादि फरक हाँगा नभई अघिपछि लाग्ने टमटम का घोडा झैँ हुन् । उदाहरणको लागि बाईसाईकलको अगाडि बस्ने अनुभववादि हुन सक्छ भने पछि सवार हुने तर्कवादि हुन सक्छ या त हेराक्लिटसले भने झैं जगत् लाई बुझ्नु असम्भव छ किनकी संसार परिवर्तनशील छ, परिवर्तनमा 'परिवर्तन' को ज्ञान असम्भव हुन्छ । डेकार्ट भन्छ - “It is best not to go on for great quest for truth, it will only make you miserable.” तसर्थ यसले अविश्वास पैदा गर्छ अस्तित्वको सम्बन्धमा । 

वास्तविक ज्ञानको खोजले मानिसमा निराशावाद थपिन्छ । निराशावाद आधुनिकताको अर्को समस्या हो । फिलोसफरहरुले यस प्रत्याभुत विज्ञान बाट कमसेकम मानिसमा सत्य को थाम लाई प्रतिष्ठित गर्न खोजे । बेकन, डेकार्ट, थोमस हब्स, स्पिनोजा र आधुनिक कालका बरट्राण्ड रसल, सात्र, मिसेल फुको जस्ता पण्डितले 'आत्मलगाव' प्रति प्रतिकूल हुन सिकाए । के यिनिहरुको पाण्डित्याइले आधुनिक निराशावाद देखि पलायन हुन बल दिन्छ ? अज्ञानको दुई अवस्था 'आवरण' 'विक्षेप' हुन् यिनै दुई अवस्थाबाट 'आधुनिकरण' को अज्ञानतालाई देख्न सकिन्छ । मानिसमा सत्य र कल्पना बीचको भेद छुट्टाउने शक्ति क्षीण भएकोले आधुनिक रूपी असत्पथ लाई पन्छाउन सकिँदैन । स्टिभिन एम. चान सम्पादित ग्रन्थ क्लासिक्स् अफ वोस्टर्न फिलोसफि, १८औं  संस्करण, पे. ११५७, मा 'We think of matter as having existed long before there were any minds, and it is hard to think of it as a mere product of mental activity. But whether true or false, idealism is not to be dismissed as obviously absurd'  यसैगरी आधुनिक करणको अवधारणालाई असंगत भनि बेवास्ता गर्न सकिँदैन यि सबै दार्शनिक चेतनाको प्रतिफलनको रूपमा मानिसको जीवनमा कतै न कतै देखा पर्छ । जसरी आदर्शवादीहरूको लागि जगत् शून्य छ त्यसैगरी आधुनिकता-वादी विरोधीहरूको लागि आधुनिकता सार्वत्रिक विषय हुन्छ । मेरो प्रसंग भनेको 'कसरी दार्शनिक चिन्तनले प्रतिस्पर्धात्मक समाजमा सौन्दर्य अवसाद निम्त्याउँछ भन्ने हो जसलाई म दार्शनिक असत्याभास भनि वर्णन गर्न चाहन्छु । यो कति खेर सृजन हुन्छ भने ‍, मानिसले विश्वासलाई आत्मसाथ गर्न सक्दैन । विश्वासले निरपेक्ष अस्तित्व लाई चलाखी पूर्वक नियाल्छ जसले, अर्को अर्थमा, 'प्रमाणको खोज' मा कुनै सरोकार राख्दैन । प्रत्येक बिहान खाने खानामा सन्देह नगर्दा पनि त्यो खाना विषमय हुँदैन चाहे त्यस 'विश्वास' प्रति शंका होस् या नहोस् र भोक्त्ता को मृत्यु (सौन्दर्य-अवसाद) हुँदैन ।



मानिस र पशुमा फरक भनेको, मानवको चेतना शिक्षाले नियन्त्रित हुन्छ यद्यपि शिक्षा कसरि प्राप्त हुन्छ भन्ने मा चासो राखिँदैन । ल मेत्रिको L'Homme Machine को दैहिक सुख मात्र एक दार्शनिक तत्व रहने जडवाद लाई पछ्याउने हो भने सायद निरीश्वरवादीको प्रतिष्ठा सँगै सँगै धर्मयुद्ध को समाप्त हुन्छ जसले कथौं हजार वर्ष देखि मानवको 'स्व-मस्तिष्क' युद्द पनि समाप्त हुन्छ यस बाट आधुनिक उछृंखलता कम भई सौन्दर्य-सुख को प्रतिष्ठा सम्भव छ । भोल्तेएरको लागि ल मेत्रिको मतवाद एक मुढता मात्र थियो तर यसले हल गर्ने मानुष-दोष लाई नकार्न भने सकिन्न । मानिसले स्व को पहिचानमा शताब्दी खर्च गरेको छ । माण्डुक्य उपनिषत् मा यस किसिमको दुबिधालाई निराकार गर्ने उपाय छ । हामी को हौं ? यही हो हाम्रो समस्या । भौतिक समस्या ।
नान्तःप्रज्ञं न बहिष्प्रज्ञं नोभयतःप्रज्ञं न प्रज्ञानघनं न प्रज्ञं नाप्रज्ञम्‌।
अदृष्टमव्यवहार्यमग्राह्यमलक्षणमचिन्त्यमव्यपदेश्यमेकात्मप्रत्ययसारं प्रपञ्चोपशमं शान्तं शिवमद्वैतं चतुर्थं मन्यन्ते स आत्मा स विज्ञेयः




प्रधानतः: समस्या यही भनि निर्क्योल गर्न सकिन्न रसलले द प्रब्लम अफ फिलोसफिमा दर्शनको अल्पता लाई निराला ढंगले वर्णन गरेको छ । माथिको श्लोकको चतुर्थ (गौडापादाचार्य ले 'तुरियम्' भनि आफ्नो कारिका मा उल्लेख गरेको छ जसले स्व को अस्तित्व माथि प्रकाश पार्छ) ले नै यो समस्या लाई निदान गर्छ । बुद्दिबाद बाट मानवले सत्यार्थ को सट्टा केवल संदेह मात्र प्राप्त गर्यो र त्यसैको विरोधमा अनुभववादी धारणाले, बुद्धिको बिनास विरुद्ध, अनुभूति द्वारा सृष्टिको नविनतालाई दृश्यम् गर्न खोज्यो तर यसले पनि अनुभूति जन्य बिनास बाहेक अरि थप दिन सकेन र अनुभवलाई एक पिनेकल मा लगेर छोडी दियो । मानिस सौन्दर्यको रूपलाई  भुलि यस्तो असत्पथ मा हिँड्दै छन् जहाँ बाट अब फर्किन असम्भव प्राय हुन्छ ।