घिल्लो लेखमा मैले सुकरात बारे थोरै जानकारी दिए र त्यो भन्दा पहिलेको ब्लगमातिन पूर्व सुकराति दार्शनिकले छोडेको समाघात लाई वर्णन गरे । सुकरातलाई नित्से ले दर्शन-विचारमा ‘डिजास्टर’ ठान्छ’ । सुकरातको सदर्भमा नित्से लेख्छ- Socrates belonged to the lowest of the low” । नित्सेले किन सुकरात र प्लेटोको ‘बिरुद्द’ विचार राख्यो ? म यो प्रश्न को उत्तर अर्को ब्लगमा लेखुँला । पहिले प्लेटो र अरस्तुको को दर्शनलाई किन महत्वपुर्ण ठानियो यो बुझौं । खासमा पुरै युनानी प्राचीन दर्शनलाई चार भागमा विभाजन गरि अध्ययन गर्न सकिन्छ ।

पहिलो, पूर्व सुकराति दर्शन (6th and 5th century BCE, जसलाई म पूर्व दार्शनिक काल भन्न रुचाउँछु) मा हामीले थेल्स (युनानि दर्शनको पिता) बाट सुरु गर्न पर्ने हुन्छ । यो कालमा माईलेजियनस्, हेराक्लिटस, पारमेनिडेस, एम्पिदोक्लेस, जेनो, डेमोक्रिटस र अन्य पर्न आउँछन् । केही हरफ पुर्वावलोकनमा खर्च गर्छु--- पहिलाको लेखमा पनि मैले भनि सकेँ यिनिहरुको मुख्य देन नै प्राकृतिक घटनाको पौराणिक व्याख्या लाई तर्कसंगत स्पष्टीकरण दिनु थियो । मुख्यता यी दार्शनिकहरूको प्रश्न- संसारको उत्पत्ति कसरी भयो? गणितिय घटकहरू द्वारा जगत् लाई व्याख्या गर्न सकिन्छ ? यस्ता हुन्थें । यी दार्शनिकहरूको लेख विरलै भेटिए पनि पछिका दार्शनिकहरू द्वारा यिनिहरुको बारेमा लेखिएको भेटिन्छ जसबाट यी दार्शनिकहरूको विचारलाई हामी बुझ्न सक्छौं । यही पूर्व दार्शनिक कालमै ‘सृष्टि’ बारे अनेक विचार र तर्कहरू निर्माण भए ।
यता हिन्दू वैदिक कालमा पनि सृष्टिको एकै खाले पौराणिक वर्णन भेटिन्छ । ‘हिरण्यगर्भ’ नै ‘उत्पत्ति ‘को योनि मानिन्छ र त्यसै बाट सम्पूर्ण सृष्टिको आविर्भाव भएको वर्णन ऋग्वेदमा छ । यता धेरै जसो सभ्यतामा पनि सृष्टिको रचना बारे मुलस्रोत लाई ‘World Egg’ नै भनि वर्णन गरिएको छ । पुराणहरू अदार्शनिक हुन्छन् तर तिनिहरूको वर्णनले फिलोसोफिको जन्म दिन्छ—यस्तै भयो सुकरात पूर्वको युनान मा । युभल नोहा हारारि पनि मिथकलाई मानव सभ्यता विकास चरणको एक प्राथमिक खुड्किलो मान्छ जसले मानवको ‘चेतना’ अनि ‘विचार’ लाई जन्म दियो । संयोग हुन सक्छ दशावतार मा पहिलो अवतार मत्स्य को थियो र यता एनाक्जिमाण्डरले माछा बाट मानवको उत्पत्ति भयो भन्ने तर्क पनि राख्दै थियो । डार्विनले मानवको विकास जनावर बाट भयो भन्दा उता हिन्दू धर्मले देवताको अनेक जानवररुपि अवतारको वर्णन गरिसकेको थियो । मेरो भनाइको मतलब मानवको ‘विचार’ को स्रोत मिथ या पुराण नै हो जसले आधुनिक दर्शनको जन्म गरायो । विस्तारै पुराण र मिथक मा प्राचीन मानवले भौतिक समस्या देख्न थाले र परिमार्जनको हेतु दर्शनशास्त्र को आभ्यारम्भ भयो । यसलाई नकार्न सकिन्न । अब युनान मा फर्किउँ—अरस्तु आफैले पनि स्विकारेको छ कि मिथक दार्शनिकहरूको नजिकको मित्र हो । 

सुकरात पछि प्लेटोको युनानी दर्शनमा निकै प्रभाव रहयो । गणितज्ञ Alfred North Whitehead ले एक ठाउँमा लेखेको छ- ‘युरोपको सम्पूर्ण दार्शनिक प्रभाव प्लेटोको लागि फुटनोट (footnotes) बराबर हो ।‘ यसबाट पनि प्लेटोको दार्शनिकताको प्रभावक भूमिकालाई देख्न सकिन्छ । सोक्रेटसको फिलोसफिकल मेथडस्, नैतिकता को प्रणालीलाई प्लेटोले आफ्नो ग्रन्थहरू मार्फत बुझायो । प्लेटो सम्भवतः पहिलो दार्शनिक हो जसले हामीलाई कृष्णले अर्जुनलाई कुरुक्षेत्रमा विराट रूप देखाए झैँ दर्शनको ‘समग्रता’ लाई एकै झमटमा लेखि दियो । प्लेटोले आफ्नो ग्रन्थ ‘डाईलगस्’ को आकारमा लेख्यो, संयोग लाग्न सक्छ यस्तै ‘वाद-विवाद’ को माध्यम बाट कृष्ण ले ‘गीता’ को अनुकम्पा अर्जुनलाई सुनाएको हो । सुकरातको ‘डाईलेक्टिक’ लाई वैदिक ऋषिहरुले पच्चिस सय बर्ष पहिले नै लेख्न सुरु गरि सकेका थिए (वेदको रचनाकाल १५०० ई.पु देखि १२०० ई.पु रहेको अनुमान छ र भागदव् गिताको रचनाकाल ई.पु ४०० हो जुन सुकरातको जन्म भन्दा ७० बर्ष पछि हुन आउँछ) । प्लेटोको लेखाई चमत्कारी छ, जसले कोई पनि रोमाञ्चित हुन्छ । जसरी म ईशोपनिसषद को हर ‘हिम’ बाट ‘रोमाञ्चित’ (Goosebumps) महसुस गर्छु, प्लेटोको दर्शनले मेरो जनानुराग त्यसै गरी भरिन्छ । यहाँनेर मैले प्लेटोनिक ड्युलिजम् अर्थात प्लेटोको द्वैतवाद लाई उल्लेख गर्नु पर्ने हुन्छ । प्लेटोको विचारमा शरीर र आत्मा फरक कुरा हुन् । दृश्यमान पदार्थ अनि अदृश्य दुनियाँ, जसलाई उ ‘The forms’ भन्छ, यसको बारे पनि उसले विचार राखेको छ । प्लेटोको विचारमा दृश्यमान जगत ‘वास्तविकता’ को ‘प्रतिरूप’ मात्र हो र वास्तविकतालाई उसले भनेको ‘Form’ (रूप) मा मात्र भेट्न सकिन्छ । उसको मत थियो कि जगत् मा जति पनि बस्तुहरू देखिन्छ त्यो ‘form’(रूप) को अनुस्मरण मात्र हो । वास्तविकता मात्र ‘रूप’ हो । म सजिलो उदाहरण बनाउँछु – जस्तो कि यदि मैले कुनै मानिसलाई दृश्यमान जगतमा देख्छु भने त्यो अस्पष्ट अनुस्मरण मात्र हो, त्यस मानिसको वास्तविक दृश्य रूप’ मा मात्र सम्भव छ । तपाइले यो ब्लग जुन जिनिसमा पढ्दै हुनुहुन्छ त्यो यस जगत् मा ‘the form’ को प्रतिकृति मात्र हो, प्लेटो तर्क गर्छ कि हामि जन्मनु भन्दा पहिले त्यस वास्तविकता संग परिचित भएकै कारणले यो अस्पष्ट प्रतिकृतिलाई जान्न सकेका हौं तर प्लेटो यो भन्दैन कि ‘the form’(रूप) को अस्तित्व चाहिँ किन छ? म यसलाई यसरी लिन्छु, प्लेटोले भनेको ‘अवास्तविक’ के थियो त? एक सामान्य दृष्टिले पत्थर लाई हेर्ने हो भने पत्थर एक मजबुत पदार्थ हो । यदि त्यसलाई कुनै वैज्ञानिक दृष्टिले हेर्ने हो भने पत्थर अर्वौं अणुहरूको ऊर्जा मात्र हो । पत्थरलाई के ले पत्थर बनायो ! हाम्रो ‘परसेप्सन्’ ले । अब यसैलाई प्लेटोको ‘डिउलिजम्’ मा राखेर हेर्दा उसको विचार बुझ्न सकिन्छ । यसलाई अझ सरल रूपमा म तल बुझाउँछु, के हो त्यो ‘फर्म’ ! 

प्लेटोले जति पनि ‘डिबेट’ लाई अगाडि सार्यो त्यो सबै हेराक्लिटस् वा पारमेनिडिस को सोचलाई सरलीकृत गर्दा निस्किएको हो । हेराक्लिटसले जगत् परिवर्तनशील छ भन्यो उता पारमेनिडिसलाई यस्तो लागेन । यसबाट समस्या के हुन्छ भने – यदि जगत् परिवर्तनशील छ भने यसलाई ठीक संग कसरि बुझ्ने । उदाहरणको लागि पाक्दै गरेको फल को ‘गुण’ या ‘प्रपर्टी’ हरक्षण बदलिन्छ भने कुन ज्ञानलाई सत्य भन्ने कि पारमेनिडेसले झैँ जगत् लाई ‘बिईगं’ अथवा ‘ननबिईगं’ ले ‘अपरिवर्तित’ पुष्टि गर्नु पर्यो । होइन भने संसार त परिवर्तनशील छ । यस्तो मा सत्य या मूर्त ज्ञान कसरी हासिल गर्ने । यस मत मा प्लेटो पनि थियो कि जुन चीज परिवर्तनशील छ त्यसको बारेमा सत्य ज्ञान हासिल गर्न सकिन्न् । संसार त परिवर्तनशील छ अनि कसरी त्यसलाई बुझ्ने त ? यसलाई ‘द प्रब्लम अफ युनिभर्सल’ भनिन्छ । यही समस्या लाई हल गर्न प्लेटोले एक ‘आदर्श जगत्’ को निर्माण गर्छ । उ भन्छ हामीले जति पनि ‘वर्ग’ हरू देख्छौं बस्तुहरूको त्यसको आदर्श कहीँ हुन्छ, जुन आदर्शले ‘वर्ग’ बीच को भिन्नतालाई सत्य बनाउँछ । यसरी त्यो ‘आदर्श’ लाई खोज्न उ यस जगतबाट बाहिरिन्छ- आदर्श जगत् मा । प्लेटोले आफ्नो ‘एकेडेमि’ को बाहिर ‘Let no man enter who doesn’t know geometry’ लेखेको थियो यसको मतलब उ पाईथागोरसको विचार ‘संसार अंकहरु द्वारा निर्मित छ’ भन्ने बिचार संग सहमत थियो । उसलाई लागेको हुनुपर्छ ‘गणित’ मात्र त्यस्तो चीज हो जुन परिवर्तन संग सरोकार राख्दैन । यसबाट उसको ‘form’ को विचार निस्किएको हुनुपर्छ । जस्तो प्लेटोकै ‘chair’लाई लिने हो भने । ‘chair’ को मूर्त आदर्श त कहीँ अन्तै छ जसलाई परिवर्तनले छुँदैन र परिवर्तन लाई नछुने ‘गणित’ ले हो । सायद यसबाट उसले ‘वर्ग’ को मान्यतालाई औचित्य दिन खोज्छ र त्यो ‘पामेडिनियन’ जगत् नै थियो जहाँ कुनै परिवर्तन हुन्न । जसलाई axiomatical truth पनि भन्न सकिन्छ । 

प्लेटोको Epistomolgy लाई theory of knowledge भनिन्छ र त्यही सम्पूर्ण ‘ज्ञान’ लाई बुझाउन उसले एक रूपक/allegory निर्माण गर्छ जसलाई The Allegory of the Cave वा Plato’s cave भनिन्छ । यो बारे त सबैलाई थाहा होला जसको वर्णन ले ब्लग लामो बनाउन चाहँदिन । अगाडि बढुँ ‘रिपब्लिक’, जुन ३८० ई.पु मा लेखियो । theory of knowledge को आधारमै उसले आफ्नो ‘ईथिक्स्’ को थ्योरि लाई बनाउन खोज्यो । ‘प्लेटोको केभ’ बाट जुन good and Bad को ज्ञान निस्किन्छ र ‘Good’ लाई देख्न उज्यालो चाहिन्छ ।


केभ भन्दा बाहिरको । यही आधार मा उ ‘रिपब्लिक’ लेख्छ । प्लेटोले जुन तिन किसिमका ‘गुण’ ले मानवलाई त्यो ‘good’ मा डोराउँछ भन्छ त्यही विचार वैदिक साहित्यमा पनि छ जसलाई हामी सत, रज र तम गुण भनी जान्छौं । यी तिन गुण मा पहिलो थियो ‘spirited element’, र दोस्रो छ The bodily appetite, र अन्तमा the charitor (reason) । मलाई लाग्छ नित्से जति सुकै प्लेटो संग चिढिए पनि त्यो पहिलो गुण ‘spirited element’ बाट ‘the will to power’को कन्सेप्ट तयार गर्छ सायद । यदि कसैले ती वैदिक गुणहरूको बारेमा राम्रो ज्ञान राखेको छ भने प्लेटोको ‘रिपब्लिक’ को सार उस्तै लाग्छ – Body, Soul, Virtue and State । 
जुन ऐक्यपुर्ण समाजको रिपब्लिकमा प्लेटोले कल्पना गरेको छ त्यही कल्पना प्राप्ति का अवधारणा वैदिक साहित्यको ती गुणहरूले यकिन गरेको छ । संयोग होला सायद । प्लेटोले आदर्श समाजलाई तिन हिस्सामा बाँडेको छ; Guardian, Solder, Worker जसलाई वैदिक साहित्य  मा चार वर्ण मा बाँडे झैँ हो जसको आदर्श मिश्रणले नै एक आदर्श समाजको निर्माण हुन्छ । हिप्पोक्रिटस ले जुन मानव शरीरमा चार गुण को बयान गरेको थियो; Blood, Phlegm, yellow bileblack bile यसैलाई प्लेटोले मनन गरेको हुन सक्छ । प्लेटोले जति पनि आदर्श समाजको कल्पना गरेको छ ‘रिपब्लिक’ मा त्यो कल्पना हो जसले नित्सेले भने झैं ‘LIFE’मा असर गर्दैन । यसैले पनि नित्से प्लेटोको विचार संग असहमति जनाएको हुनु पर्छ । म प्लेटोको कम्युनिजम् लाई अर्को ब्लगमा सामेल गर्छु । 

अब युनानी दर्शन अध्ययन मा दोस्रो भागमा ‘एटिक फिलोसफि’ लाई लिन सकिन्छ जुन समयमा सुकरात, प्लेटो र अरस्तु ले गर्दा युनानी दर्शनले नभोमध्य लाई छुदै थियो । तेस्रो थियो ‘हेलिनिस्टिक फिलोसोफिकल पिरियोड’—जसमा ‘दि एकेडेमि, दि पेरिपाटोस्, दि स्टो र दि गार्डेन अफ एपिक्युरस् जस्ता स्कुल अफ फिलोसफि दर्शनको आकर्षणको बिषय थियो । र चौथो छ— ‘युनानि सम्राटकाल’— जुन समय रोमन सम्राट सुल्लाले ई.पु ८६ मा प्लेटोनिक स्कुल लाई एथेन्स मा बन्द गरिदिन्छ र दार्शनिक विचार मा पूर्णतया बन्देज लगाउँछ । यी सबै को चर्चा पछिको ब्लगमा लेख्छु ।