पहिले उसले अम्लान अनुहारका साथ गगनतिर आँखा बिछ्यायो । त्यहाँ हेर्न छिटपुट बादलका टुक्राहरू बाहेक केही त्यस्तो अनमोल बस्तुहरू थिएनन् तैपनि उसले एकटक सङ्कोचको साथ आँखाहरू झिमकायो । । निर्बस्त्र कोमल जाँघ फैलाएर उभिएकी कुनै नव यौवन झैँ, समुन्द्रको किनारै किनार, यथार्थ कल्पना बोकेर उ केही अयन हिँडिरह्यो । आज समुद्र शान्त छैन । छालहरूको मोज मज्जा अघिपछि भन्दा, घोडाको गर्धनको लामा रौँहरू हावामा ढलपल गरेझैँ, अघिपछि गरिरहे । उसले केही सम्झिएझैँ पाइताला विपरीत मोड्यो । कोही उसको सम्मुख उभिएको छ । त्यो मानवाकृति सेतो मार्बलमा कुँदिएको बेरसिलो वा भुनुँ टीठ नपरेको थियो । उसले मानिसको  मुजा परेको, जुन वृद्ध रुखको झर्न थालेको बोक्रा झै, लाई खुब सँग नियाल्यो । घाँटी मुन्तिर झ्लोलिएको मासु सडक कुकुरले चोरेर भाग्दा त्यसको मुख बाहिर घिनलाग्दो तवरले झुन्डिएको मांश झैँ देखिन्थ्यो । उसले मुख बिगार्‍यो । थुक निल्यो । त्यो मुख नपरेको आकृतिले उसको दुवै हात दह्रो गरेर समायो । त्यस मानिसको हातको डरलाग्दो स्पर्शले गर्दा उसले पाइला किन बटारेको भन्ने बिर्सियो ।



भूमिगत किताब पसल पुग्नु भन्दा पहिले उनीहरूले दुई दिन लाई पुग्ने पाउरोटी र आलुबखडा किने । ती परिचित उनीहरूले बिस बाइस वर्ष पुरानो स्थानीय बाइन किने । हावा धूमधामले लागेको हुनाले हातको सामल-पोकाहरू अघि अघि हुत्तिन्थे । उनीहरू छिटै किताब पसल पुगेर पोकाहरू बिसाउन चाहन्थे । कसका पोकाहरू ? उनीहरू सभ्भबत धरतीकै पेशल मन भएका ईन्सानहरु हुन् त्यसैले उनीहरूसँग दुख को अनगिन्ती ठेगानाहरू छन् । कोमल मन भएकाहरूकै मन धेरै जसो भाँचिएका हुन्छन् । यी यिनै कृपावान् मानवकृत थिए । उनीहरू भूमिगत कोठाको ढोकामा उभिन्छन्   । एक कीरन्टोकि नोकरनिले ढोका उघार्छे जसका हातहरू ज्यादै मुलायम हुन्छन् । उसले दुवै मानव सँग पालैपालो हात मिलाई । उसले सिधै बैठक कोठा तिर हात सोझ्याई र सबै ईन्सानहरु बैठक कोठा भित्र हिउँद का वाईल्ड चरा झैँ बसाई सरे । दुवै मानिसलाई कन्जुस नोकरनिले एक एक प्याला रक्सी पिलाई ।उसले आफ्नो शुभ नाम बताई तर उनीहरूको स्नायुले त्यो पछ्याउन सकेन । यसैले मैले पनि नोकरनिको नाम सुन्न सकिन । म उसलाई यसपश्चात् नोकरनिनै भनुँला । उसले एक कामोत्तेजक नजर त्यस नोकरनिमा पारेर त्यस टीठ परेको बुढो तिर फर्कँदा बुढो त्यहाँ हुँदैन । बुढोको दैहिक शरीर बैठक कोठाको भूगोलबाट बिलोम दुनियाँमा परावर्तित हुन्छ तर बुढाको आवाज बैठक कोठा मा अस्पश्ट सुनिन्छ मानौँ बकरेको बन्धनमा परेको बुँचो अतालिएको होस् ।


तिमी ईश्वरमा विश्वास गर्छौ ? नोकरिनिले उसलाई सोध्छे ।

म ईश्वरीय शक्तिमा भने विश्वास गर्छु । उसले किताबहरूले भरिएको भित्तातिर आँखा घुमाउँछ ।

कोठा चाहिने भन्दा बढी ओसिलो छ । भित्तामा किताबको महासागरमा ढुसी लागेका छन् मानौँ कसैले पढ्न जानेकै छैन यहाँ ।  झिँगाको नामोनिसान देखिँदैन तर कता कता बाट कोठामा सिनो गन्हाएको झैँ हरक भने आउँछ । तिमी नोकर्निको नजिक जाँदा सिनोको हरक अझै बढी अनुभव हुन्छ । त्यसो भए तिमी स्वर्ग वा समागममा विश्वास गर्दैनौ ? नोकर्नी आलुबखडा टोक्दै उसलाई सोध्छे ।

तिम्रो भनाई को मतलब के हो?

मेरो आशय, समागम र ईश्वरीय वासनोत्तेजना मा धेरै भिन्नता छैन । स्वर्ग आफैमा परम सुखको ज्ञानेन्द्रिय हो जसबाट निसृत आवाज नै तिमीले तिम्रो बेडडरुमा पाउने हो । धेरै फरकै छैन । तिमी दुवै प्रति यथासभ्भब वन्दना देखाउँछौ । तिमीले कहिले शिशुहरूले जलकेलि गर्दा निस्कने आवाजलाई ध्यान दिएको छौ ? तिमीले त्यसलाई प्रेम गर्छौ भने तिमीले ईश्वरलाई पनि प्रेम गर्नु पर्छ किनकि यी सबै अनन्त मार्गमा एकै मुहानमा जोडिन्छन् ।

तर म त नास्तिक हुँ । उसले त्यति भनेर नोकर्नीलाई अङ्गाल्न पुग्छ । उसले फेरी भन्छ । यति सौरभित शरीरलाई तिमीले यो विकराल भुमिगततामा किन नाश गर्छौ ? अनि आज सम्म यो पसलमा मैले ग्राहक देखेको छैन । यो हास्यास्पद छ । न कहिले म तिम्रो नाम सुन्छु । यो के मजाक हो ? उ बेस्सरी चिच्याउँछ । नोकर्नी आलुबखडा चपाउनमै तल्लीन हुन्छे ।

तिम्रो दिमाग भित्र विनाश उत्पन्न हुँदै छ । जसले गर्दा तिमी आफ्नै आवाज को वृत्त लाई पछ्याउन सकिरहेको छैनौ ।

अनि यो गन्ध ? यो कुनै पशु कुहिएझैँ छ । मेरो दिमागले यो किन पछ्याउँछ त ?

यो तिम्रो आफ्नो शरीरको प्रसार हो । यो मेरो शरीरको महक हो । यी सबै, यस्ता छन् मानु हामीले आफ्नै सुगन्ध पछ्याउन छोडिसके जस्तो हैन ? हामी आफैदेखि अपरिचित छैँ । भयानक त्रासदिबाट निप्टिँदा यस्तो हुन्छ । हामी समयको त्यो विभाजनमा छौ जहाँ तिमी आफ्नै आत्मा देखि डराउँछौ । यसलाई यसो भनूँ । अननुभुत समय, जसलाई तिम्रो कुनै पनि अङ्गले अर्थ्याउन सक्दैन । यस्तो बेला म तिमीलाई कस्तो खालको जवाफ दिउ र?

उ दौडिएर किताबहरू भएको भित्तामा गएर उभिन्छ । नाकलाई एउटा एउटा किताबमा रगड्न थाल्छ मानौँ कुनै परपुरुषले परस्त्रिको जाँघमा हत्केलाहरु दौडाएको होस् । हठात् उसको दिमागमा अर्कै थरी कुरा खेल्छ र उ नोकर्नीतिर फर्कन्छ । नोकरनिका आँखाहरू पहिलेझैँ स्निग्ध र कञ्चन देखिन्छ । उ त्यस सौम्य ताल तिर पैताला बढाउँछ र चुरलुम्म डुब्छ । त्यो अलौकिक अलौकिक सङ्गमको तालबाट बाहिरिँदै गर्दा उ भयङ्कर सँग रुन्छ । सानो बालक झैँ । उ नोकर्नीको खुट्टा समात्दै रुन थाल्छ ।

युगानुयुग सम्म हामी सम्भोगरत भएझैँ तिमीले मेरो ज्ञानेन्द्रियहरुलाई यसरी संतृप्त पार्‍यो जसको ईतिहाँस ती गन्हाउने किताबहरूको थुप्रोमा नि भेटिँदैन । के छ यो किताबमा ? किन कसैले यो खोल्दैन/पढ्दैन । यति भनेर उ फेरि किताबको थुप्रोमा सुँघ्न पुग्छ । उ किताबको वासना देखि दिगमिगाएर वाकवाकि गर्नै थाल्दा नोकर नि तिर फर्कँदै सोध्छ । को हौ तिमी? यो किताबको गन्ध र तिम्रो शरीरको गन्ध एकनासको छ । नोकर नि उसको नजिक आउँछे, खाट छेउको खर्रामा आफ्नो नक्कली दाँत फुकालेर मिल्काउँछे र पहाडको कुनै भन्ज्यांग सुसाएझैं अनु स्वर निकाल्दै खाटमा पल्टन्छे ।

खोइ तिम्रो दाँतहरू? उ नोकरनिलाई दिगमिग मान्दै सोध्छ ।

यी आलुबखडा खाँदा खाँदै झरेका हुन् । हास्य मिसाउँदै उ जवाफ दिन्छे ।

म निकास चाहन्छु । उ त्यहीँ उभिएरै क्वारक्वार क्वारक्वार नोकरनिलाई नियाल्छ ।

हे भगवान् ! तिमी आफ्नो सन्तुलन गुमाउन चाहन्छौ ? नोकरनि सिताकार छोड्छे ।

उ केही नसुनी फटाफट लिस्नो उक्लिन थाल्दै गर्दा नोकरनिले तल बाट भन्छे ।

ढोकामा बेतको लौरो छ बोकेर जाऊ, गन्तव्यमा काम आउँछ । उ गुफाको मलद्वारामा, होइन मुलद्वारमा भएको बेतको लौरो समाएर त्यो काहालिलाग्दो भूमिगतको सँघारबाट ओझेल हुन्छ ।



हुस्सुले एक अम्मल पर पनि देखिँदैन । उ सतर्क हुँदै त्यो हुस्सु भित्र छिर्न थाल्छ । दृश्य यस्तो देखिन्छ मानौँ कुनै निमफोमेनियाक आइमाईको यौनांग भित्र वासना छिर्दै होस् । पछाडि फर्केर हेर्दा भूमिगत किताब पसलको हवास बाट धुवाँको मुस्लो अाईरहेको हुन्छ । उ हुस्सु भित्र घुस्न थाल्छ । केही गज पर समान आकारको बेतको लौरो टेकेर हिँडिरहेको वृद्ध लाई भेट्छ  । उ अलमलिएको देखेपछि वृद्धले त्यसैगरि च्पाप्प हात समाउँछ जसरी समुन्द्र किनारमा उसको हात समाएको थियो । उनीहरू केही याम नै चुपचाप हिँडिरहन्छन् । एक्कासि वृद्ध थर्र काँप्छ र भन्न थाल्छ ।

स्वकीय यथार्थता त जमिन मुनि मात्रै हुन्छ, भूमिगत । मानिसहरू बाचुञ्जेल उहुमा बाँच्छन् तर त्यस्तो सम्मोहनको लागि मृत्यु नै असल चिज हो । वृद्धको अनावश्यक गलफति सुनेर उ केही थकित भइदिन्छ । पसिनाले कम्मर मुनि सबै भिजिसकेको छ । दुवै खुट्टालाई सकेसम्म फैलाएर दुई ध्रुव झैँ टाढा पार्दै हिँड्छ ताकि पसिनाले काशमा नपासोस् । बुढो उसलाई हेर्छ र फिस्स हाँस्छ । उसलाई बुढोको आँखाहरूले बढी सताउँछ किनकि आँखाको डल्लाहरू दुई ध्रुवतिर फर्किएका छन् ठ्याक्कै उसले अहिले टाँग फट्टाएर हिँड झैँ र सँग सँगै ती विषालु देखिन्छन् । गिद्धको झैँ खैरा आँखाहरू देखेर उ तर्सिन्छ र आफ्नै मुटु छाम्न पुग्छ ।

कस्तो अत्यास लाग्दो सत्यता ! उसले आफ्नो हृदको चाल भेट्दैन ।

खोइ मेरो हृदयको आवाज ? उसको त्वरित प्रश्नको लागि उ अर्को प्रश्न थप्छ । तिमीले तिम्रो हृदयको आवाज त्यही छोडेर आएनौ र ? हवास बाट उठेको धुवाँलाई फर्केर हेरेकै थियौ । उ खग्रास हुन्छ वृद्धको कुरा सुनेर ।

ठिक छ, यी हेर । यहीँ नेर हो । वृद्धले जमिनमा औला देखाउँछ । रुखको फेद तिर । वृद्धले मानिसलाई जमिन उधार्न लगाउँछ । उसले जमिन खोतलुन्जेल वृद्ध अनेक गलफति गर्दै जान्छ । भन्छ । त्यसले तिम्रो हृदयलाई तमाखुझैँ भरेर उडाई दिई । त्यो सब सुनेर मानिसको अनुहार ग्रहणमा लुकेको ग्रहझैँ उदास हुन्छ । खन्दै जाँदा उसको हातले जमिनमा केही छुन पुग्छ । अलिकति पछाडि हट्छ । वृद्ध ले मानिसलाई धाप मार्दै जमिनतिर निहुरिन्छ । लासको कुहिएको टाउको मात्र हुन्छ वृद्धले टाउकोको बङ्गारा फट्टयाउँछ बचेको सबै दाँतहरू कोटको खल्तीमा हाल्छ । त्यो सब देखेर मानिसको उदेकको सीमा रहँदैन ।

वृद्धले माटोले शशरि हराएको लासको टाउको पुर्दै गर्दा भन्छ  ।

यो आलुबखडाको रुखमा फल लागेको देखेकै छैन । त्यो सब सुनी रहँदा उसको सर्वागं रै का हाँगाहरू उठ्न थाल्छन् । दुवै बङ्गारा बजाउन थाल्छ । वृद्धले पहिले झैँ धाप मार्छ र अघि अझै बाँकी छ भने झैँ गर्छ ।

अरू दुई दिन हिँडेपछि साँझ एउटा छाप्रो अगाडि अाईपुग्छन् । घर अगाडि आई पुग्दा लखतरान दुवैले एक साथ जङ्गली हरिणले झैँ घर छेउको तालमा मुन्टो गाड्छन् । त्यति खेर पानीमा परेको  आफ्नो अनुहारको छाया कता कता उसलाई वृद्धको अनुहारसँग मिले झैँ भ्रान्ति हुन्छ । घर छेउको चकमन्नताले उसलाई सन्त्रासको धारमा धकेल्दै लान्छ । स्यालको कोकोहोलो ले उसको छाला माथिको नरम भुवा चुम्बकले ताने झै देखिन्छ । उसले झन्डै झन्डै आँसु चुहाउनै थाल्दा वृद्धले पाखुरामा तानेर उसलाई ठिङ्ग उभ्याउँछ । वृद्ध बिस्तारै अब पोखरीमा छिर्न थाल्छ । केही छिन पछि उसले आँखा झिमिक्क गर्दा पोखरीको पानी माथि कयौँ बेतको लौरोहरू तैरिएको हुन्छ । उसको स्नायुले कामै गर्न छोडे झैँ  बेतोडले उ घर भए तिर भाग्न थाल्छ ।
 जब उसले घर भित्रको दृश्य देख्छ । उ एक साथ बहिरो र अन्धो हुन्छ ।


घर भित्र के भएको हुन्छ त्यो म बताउँला ।


मानिस टाउको नभएको लासको अघिल्तिर निर्भय साथ उभिएर लासको हात खुट्टाहरू चोईट्याउँदै हुन्छ ।