सलाई यस्तो उपद्रो झरिमा आज हिड्न मन छैन तर उसको प्रेमिले उसलाई भेट्न बोलाएको छ । 'मरु' मा । उसलाई मरु कता पर्छ भन्ने पनि थाहा छैन । ठमेलको होटलमा हिझै मात्र उ आईपुगेकि थिई । उसलाई होटलको नाम ठिक संग उच्चारण गर्न आउँदैन । बर्खे झरि थामिएपछि मकैका पातहरु बज्न छोडे जस्तो मोजार्टको संगित थामिदा उसलाई पटक्कै ठिक लागेन । काउन्टरमा गएर उसले त्यहि संगित नै आफुलाई ठिक लाग्ने कुरा बताईरहँदा कर्मचारिहरुले आफ्नो कुरामा भन्दा आफ्नो बक्षस्थलमा ध्यान दिएको उसलाई मन परेन तर आज प्रेमिलाई भेटिरहँदा उसले आफ्नो तिनै अंगलाई यसैगरि नियाल्छ होला भन्ने सोच्दै उ होटलको कोठामै फर्किई । यसपटक काठमाडौंले आफुलाई परिजन जस्तो नियालिरहेको अनुभुत गरि । होटलको झ्याल बाहिर खरका छाना भएका घरहरु माथि छापिएका बर्णशंकर बोडिका लहराहरु ले बेरे जस्तै आफ्नो प्रमेलि आफुलाई बेरेको कल्पना गर्दा उ झसंग भई । किनकिन उसलाई होटलको कोठाले, काठमाडौंले, परिरहेको झरिले आफुलाई अंतरगं बुझ्न ईश्यालु भईरहेको कल्पना गरि । उसले झयाल बाहिर मुन्टो निकालेर एक पटक ठमेल लाई नियालि । आफु बसेको होटल भन्दा अग्ला घरहरु वरिपरि थिएनन् त्यसपछि उसले आफुलाई निसन्देह शनै शनै 'फुकाल्न' थालि ।
उसको झ्याल भन्दा तल तिरको झ्यालहरुबाट गाँजको हरक उसको कोठा भित्र छिरिरहँदा उसले आफु लठ्ठिएको कल्पना गर्न पुगि । उसले सानै छँदा आमाले मकै का घोगाहरु उधारेको देखेको थिई । आमाले पहिले बिस्तारै बिस्तारै मकैलाई चारैतिरबाट खोस्टाउँथिन र फेदतिर बाट पट्ट भाँचिदिन्थिन् । उसले आफुलाई काठमाडौंको झरिमा रुझ्दै प्रेमिको कम्मर समाएर नाचिरहेको कल्पना गर्न भ्याई । उसले आफ्नो समयलाई लांछना लगाउनेहरु पनि भेटेकि थीई तर 'जोन लेनन, बिट्टल्स, बब ड्यालन, द डोर्स ले समाजिक संस्कृतिमा पारेको प्रभाब' पढ्दाको समयले आफुलाई उत्ताउलो पार्ने कुरा उ प्रेमिलाई आज पनि सुनाउन चाहान्छे । उसलाई यस्ताकुराहरु भुल्छु कि भन्ने लाग्छ र संझनाको लागि टिपोट बनाउँछे तर प्रेमि ले यस्ता गल्तिहरु समाए आफु केहि संझिन नसक्ने केटि को रुपमा देखिन सक्छे । त्यसैले उ टिपोटलाई कच्याककुचुक पारेर झ्याल बाहिर हुत्याईदिन्छे र सके सम्म सबै कुरा संझिन सक्छु भन्ने कुरा एना अगाडि उभिएर रट्न थाल्छे । उसलाई आफ्ना अंगहरु बिस्तारै आफ्नो घरको झ्याल छेउ फक्रिदैं गरेको ड्याफोडिल जस्तो अनुभुत हुन थाल्छ । जुन प्रत्येक ऋ्रतुले जस्तै केहि न केहि नयाँ परिबर्तन लिएर आउँथ्यो । उ एकपटक मुस्कुराई । मुस्कुराउँदा उसका दुबै आोठहरु तन्किन्थे र नाकका पोरा ठुला हुन्थे ।
उ संग पनि अरु संग हुने जस्तै मोतिका मालाहरु, खुट्टामा लगाउँने 'अ्याङकल लेट', घाँटिमा शान्तिको सन्देश दिने माला, केहि जोर हातले बुनेका क्यालिफोर्नियन शैलिका स्कार्फहरु, प्लासटिकका फुलहरु, पागल देखिने चम्किला लुगाहरु, कम्मरमा लगाउँन जुटको पेटि र केहि थान पेस्ले डिजाईनका कपडाहरु । उसले ति मध्य मोतिको माला लाई घाँटिमा हालि । आफ्नै शरिर उसलाई पुर्नजागरणले भरिपुर्ण भएको लाग्यो । उसले होटलको झ्याल बाहिर टाउको निकालि र फेरि अर्को पटक ठमेल लाई नियलि । अब पानि परिरहेको पनि उसलाई मजा लाग्न थाल्यो ।
उ संग भएका मध्य सबै भन्दा राम्रा पेस्लेहरु छानेर लगाई र कपालमा फुल सिउरिई । मुगाको मालालाई कपडा भन्दा बाहिर निकालि । उसले आफुलाई एना अगाडि युगकि सबैभन्दा अग्रणि र भलाद्मि भएको देखि । उसको प्रेमिमा पनि त्यहि जोस थियो जुन उसमा थियो । समाज र सभ्यता भन्दा पर पुगेर बिद्रोहि बन्नु, समाजको मान्य दायरालाई चिरेर कुनै नयाँ युगमा फाल हाल्नु यस्तै केहि बिचारहरु उसंग हुनु पर्छ ।
उ होटल बाट बाहिर निस्किई । अब उसलाई मरु कता छ भन्ने पत्ता लगाउनु थियो ।
उ बाहिर निस्किनासाथ उसको कोठा बाहिर पटाका पड्किएको आवाज जस्तो केहि सुनियो । होटलका कर्मचारिहरु उसको कोठामा हुलमुल गर्दै छिरे । उसको शरिरमा कपडा थिएन । उ नाङ्गो थिई । यसरि एउटि पुनर्जाणरणले भरिएकि 'उसको' हत्या भयो ।
उसले आफ्नो प्रेमि लाई नभेटि होटल नजाने निधो गरि । उसलाई अझै लाग्छ उसको प्रेमि उसलाई 'मरु' मा कुर्दै छ । तर त्यस दिन होटलमा के भएको थियो भन्ने कुरा झरिमा रुझ्दै गरेको ठमेललाई मात्र थाहा थियो । उसले एन्टिक पसलमा काम गर्ने केटा लाई सोधि 'मरु कता पर्छ ?' केटाले जवाफ दिएन । उसले सोचि ठमेलको हल्लाखल्ला उसको स्वर भन्दा ठुलो छ । उ मरु खोज्न हिंडि । प्रेमि भेट्न ।