फोस्रो अाँखा भित्र छरिएको तुँवालो ।
जतनसाथ समेटेर,
म कोटको खल्ति भित्र हाल्छु ।
बा ले कलमि सारेको फुलको हाँगा झैं,
हृदयको बिर्तामा ।
सरोबर फैलिएको छ ।
वल्लो साँध देखि पल्लो साँध सम्म ।
निस्सारता ।

निदाएको जस्तो स्वाँङ्ग गरेर
सहसा ब्युँझिएको छ ला थ्रुबका गल्लिहरु ।
एलएसडिले मातिएका नौजवानहरु ।
गहुँ खेतमा भाङ खोजेर थाके जस्तो
लखतरान र हैरान छन् ।
म उनिहरुको रखवालि गर्न खटिएको होईन
तर,
म रात रात भर जागा रहेर कबिता खोज्छु ।
एउटा चुरोटले जन्माएको कबिता
म एक्लै बुत्याउन सक्दिन ।
त्यसैले मलाई भरोसा दिन यो शहर थामिएको छ ।
फु्र्तिला छायाँकारले खिचेको
टाईमल्याप्स फोटोग्राफि जस्तो ।
निर्बिघ्न बगेको ला थ्रुब ।
अन्यम्स्कन भएर मलाई सुन्न अडिएको छ ।
त्यति बेलै मैले सुनाएको हुँ ।
हजुरअामाको फाट्टनै थालेको खद्दरको कथा ।
अामाको भासिन थालेको सपनाको ब्यथा ।
बाको-
चुडिँन लागेका दौराको तुनाको कथा ।

म मुखियाबाको सन्त अनुहार संझन्छु ।
खोरिया फाँड्ने हितैषिहरुको उत्साहा संझन्छु ।
असारेफुल लर्किएको अाँगनमा ।
खुट्टिखेल्दै गरेकि बहिनिको अान्नद संझिन्छु ।
डाक्रे कुखुरा कोरल्न बसेको ममता संझन्छु ।
स्मृतिदंशबाट फुत्किएर म यहि शहरमा मिसिन्छु ।
तर, एलएसडिले मातिएका तिनै नौजवान
मेरो खित्का गर्छन् । र भन्छन्-
तिमि नशातित भईसक्यौ ।

परालको छाना माथि उम्रिएका अल्लारे
जौ का टुसाहरु ।
बा का सपना जस्तै दिनदिनै बड्छन् ।
अामाको मनोकामना पुरा गर्न
प्रत्येक बिहान पिपलको पातले सहन्छन्
बाटेको धुपको धुँवाको मुस्लो ।
जेनिथमा देखिएको त्यहि मुस्लो लाई देखाएर भन्छु -
हेर हेर मेरि अामाको मानोकामना उड्दै छ ।
तर, एलएसडिले मातिएका तिनै नौजवान
मेरो दिल्लगि गर्छन र भन्छन् -
यि मात्र तिम्रै चुरोट जलेका धुवाँ हुन् ।