सांझको दोकानमा
सितन संगै आलो मासु पनि बेचिन्थ्यो त्यसताका
भकाभक गिलासँ रित्ताउनेहरुले
गिलाँस ठोक्दा निस्किएको चियर्स
पद्दमाबतिको कानमा ठोकिन्छ अाजकाल ।
जिबनको म्याचुरिटिमा,
अनुयायिहरुको थाक लगाएकि छे उसले ।
तिनै मध्यको एक म
उपबासको दिन हुँदाहुँदै पनि
मैले उसको मुखमा मुख जोतें ।
उसको अदुवाको रस मेरो मुखमा सर्यो ।
त्यो त ईच्छामृत्यु जस्तो थियो
उसैको कैदखानामा: डेथ विथ डिग्निटी।
त्यसैक्षण उसले भनि▬ म पान पसल्नि पद्दमाबति ।

भट्टिसंगैको पान पसल उसैको थियो ।
कसैले उसलाई पहिलो पटक
ठिक ठिक सल्लाह दियो ।
अमेरिका जाउ । युरोप जाउ । हिनदुस्तान जाउ ।
पान चपाउन छोडेर उ अाजकाल अदुवा चपाउँछे ।
उसको सुगन्धित स्वासमा
बहकिन अाउनेहरु उसलाई मदिरा मान्छन् ।
उसलाई कसैले मादमोजेल पद्दमाबति भन्छन् ।
उसलाई धेरैले फाम द मेजोंको पात्र भन्छन् ।
तर उ आफैंलाई भन्छे ▬ म पान पसल्नि पद्दमाबति ।
ग्राउण्ड जिरोको फुटपाथमा
उसको स्यान्डलको अावाजले,
गगनचुम्मिका मालिकहरु भोकाएका फ्याउरा जस्ता हुन्छन् ।
उ सन्तुष्ट छे उसको दोकान बाट ।
हप्तै पिच्छे उसको यौवनाबस्था
सेएर बजारको ईनडेक्स जस्तो ह्वात्तै बढ्छ ।
उसको सुचाङक यसै कहाँ बडेको हो र
खुद्रा ब्यापारि देखि फुटपाथ सम्मले उसैलाई बिक्रि गरे
उसैको बोनि गरेर उक्कासिएकाहरु
अाज यसलाई असामाजिक स्याक्नडल भन्छन् ।
यो कस्तो दुनिया
उपयोग पछि फ्याँकिएकि
मन्दिरकि प्रसाद जस्ति । सयौंले कुल्चिएका ।
कहाँ छ र अारधना यहाँ ।
तर, राता रात उसको ईनडेक्स उकालो लागेकै छ ।
उसले आफ्नो गोता फेरि- नाम फेरि ।
ब्लुमबर्गमा अाजकाल उसको नाम अगाडि जोड चिन्ह लगाईन्छ
मेरो चोककि भलाद्ममि केटि
उ पद्ममाबति बाट पम्मु भएकि छे
म हिजोअाज उसकैको मा पाहुना भएको छु
एचटिटिपि को पछाडि उसकै नामको डोमेन छ
उसलाई कसले के भने । के वास्ता ।
उ गोसिपलाई पिच्च थुकिदिन्छे ।
कुरा काट्नेहरु त्यहि अदुवाको रस संगै बग्छन् ।
त्यसैले उ आफैंलाई भन्छे ▬ म पान पसल्नि पद्दमाबति ।