त्यतिखेर हिन्द महासागरको क्षितिजमा सुर्यको पँहेलो प्रकाशले अभिशारिकाले जस्तै हाँसिरहेको थियो । मैले त्यसदिन पनि तोलाको जिब्रो फट्कार्न भन्दा धार्निको टाउको हल्लाउन बेश संझे । उनि संग बराबर भेट हुन थालेको छ अाजकाल । टिन बजाउने बुढाले मेरो परिचय यसरि दिएको थियो । 
'अभिसारिका, उ एक आउटसाईडर हो । मैले ठिक भनिन त महोदय?' बुढाले मलाई सोध्यो । मैले फेरि धार्निको टाउको हल्लाएं । सहमतिमा ।
'चर्चको अगाडि बसेर सिग्रट पिउन र ईश्वरलाई भुमिका नबाँधि आफ्नो पिडा सुनाउन उसले सिकिसकेको छ ।' बुढाले यति भनेर फेरि म तिर हेर्यो । उसले दिईरहेको मेरो परिचय मा मैले सहमति जनाई दिओस्' भन्ने बुढालाई लागेको थियो ।
बुढा ले मेरो परिचय दिई रहँदा उसकि प्रेमिका मेरो औलाहरु मा हेरिरहेकि थिई । मलाई लागेको थियो उसले 'तपाई यिनै हातहरुले सिर्जना गर्नुहुन्छ ।' भन्छे । तर बुढाको परिचयको आखिरमा उसले सोधि
'प्रिय आउटसाईडर, बास्तबमा तिमि कुन-कुन औलाहरुको बिचमा चुरोट च्याप्छौ ?'
बुढा अभिसारिकाको कुरा सुनेर हिन भाबले हाँस्यो । अभिसारिका आफ्नो बुढो प्रेमिको हाँसोमा अलिकति रिसाई । बुढाले भन्यो । मेरो बारेमा । 'आउटसाईडर बहिर्गमनको दोसाँधमा उभीएर संभाबनाको लामो धुँवा फुक्क थालेको छ । तिमिले कसरि उ भित्रको युद्धको अल्पबिराम लाई नाथे औलाको बिचमा सिमित राख्न खोजेकि ?'
बुढाले टिनको ठुलो बिर्को माथि आफ्नो लौरो बजार्न थाल्यो । संगितले उसकि प्रेमिकालई मुग्ध पार्न थालेपछि म उनिहरुको परिधि बाट आफैं हट्ट खोजे । अभिसारिकाले म जाँदै गरेको हेरिरहेकि थिई ।
'मलाई थाहा छ । यो आउटसाईडर बिरानो ठाउँमा पराईको प्रेमिकालाई चाहान थालेको छ ।' म हिंडिसके पछि बुढा आफ्नि प्रेमिकालाई संझाउँदै थियो ।
हिन्द माहासागरको किनारै किनार हिडिरहँदा मैले कयौं पटक आफैंलाई सोधिरहेको थिएं । 'के म बुढाकि प्रेमिकालाई चहान थालेको थिएं त ?'