अँगेनाछेउको,
अोछ्यान माथि बसेको छ,
बिेरेठाँटि,
ईस्टकोटको उध्रेको फेर सिउँदै ।
आधारातमा,
भुत्ते खरानिको तातो माथि
निदाएका पाठाहरु,
भोकले च्याँठिन्छन् ।
कुँडेको मनतातो दुध
चोर्दै गरेको बिरालो,
बिरेठाँटिको अगाडि बाटै भाग्छ ।
त्यतिखेरै,
उसले फेवालाई संझिन्छ ।
निकै जतनले पोहर,
फेवाले सिलाईदिएकि ईस्टकोट
बर्षदिन नपुग्दै उध्रिएछ ।
छनामाथि को सानो प्वालबाट
जुनले बिरेठाँटिलाई बोलाउँछ ।
उ आफ्नै सुरमा मस्त,
भकारिको सँचिति आँक्दै छ ।
उ उक्ताउने कारण
पाठाहरुलाई थाहा छ
जाँड कुहाउने भाँडालाई थाहा छ
मदानि ठेकि लाई थाहा छ ।
कारण,
फेवाले सिलाईदिएकि ईस्टकोट
बर्षदिन नपुग्दै उध्रिएकोछ ।
(:वेस्टकोट लाउनेहरुले बिरेठाँटिलाई चिन्दैनन्)