आल्मुनियमको,
अण्डाकार फ्रेम भित्र
समयको सापेक्षेता झुण्डिएको थियो ।
तर्क, बितर्क
सोच र दुबिधाको घेरा भित्र
हचुवामा कुदिरहेको थिंए ।
म समयलाई खोज्छु ।
समय मलाई खोज्छ ।
समय परिबर्तनलाई खोज्छ ।
समय यथार्थलाई खोज्छ ।
म भोलिलाई स्विकार्न
बर्तमानको भेलमा,
बगिरहेको छु ।
हिंउदको खोला माथि
काठको मुडो बगे जस्तो ।

आल्मुनियमको फ्रेम भित्र के थिएन ?
स्नेहको पराबर्तन थियो ।
भाबनाको उत्बेग थियो ।
प्रलोभनको नजिर थियो ।
त्यहि नजिरमा,
त्यहि उत्बेगमा,
त्यहि पराबर्तनमा
म केहि खोजिरहेको हुन्छु ।
घडिका सुईहरुले
तारबारको चौघेरा बनाउँछ ।
म उम्कन खोज्छु ।
तर,
समय हठ गरेर
मेरो पछि लागेको छ ।
तारन्तार अनुनयको धर्ममा
म बोलिरहन्छु,
पख ! निकैबेर पख
म पैदल समयलाई
नाघ्न चहान्छु ।
अण्डाकार आल्मुनियमको फ्रेम बाट
म आफुलाई उम्काउन चहान्छु ।
खैर,
समयले एकहोरो घण्टा बजाईरहन्छ ।
त्यसमा मेरो यौबनाबस्था,
मेरो बयष्कता
मेरो भाबुकता
घण्टा घण्टामा ठोकिएर
तिख्खर आवाज निकालिरहेछन् ।

अण्डाकार फ्रेममा,
समयको नक्सा छ ।
त्यहि मानचित्रको बाटोघाटोमा
म हिंडेका डोबहरु छन्।
म भुलेका बाटाहारु छन्।
रौसिएका मोडहरु छन्
सबै सबै लाई लत्याएर
समयको फन्का,
घण्टा घण्टामा बजिरहन्छ ।
आखिर,
म समयको भुचित्रमा
दिनदिनै अलमलिएको छु ।