र्खरै मात्र,
म भुगोलको परिधिमा बसेर
अपनत्वको नक्षत्रमा
आफ्नोहरुको स्नेह खोजिरहेको थिंए ।
उड्दै आएको चराले सोध्यो ।
बग्दै गरेको खोलाले सोध्यो ।
अचल महाशागरले सोध्यो ।
उकार !
तिम्रो चिठ्ठिको बेहोरा मा कस-कसको प्रेम छ?
म अवाक् महाशागरलाई सुन्न थालें ।
उसैको मौनता संग संलाप गर्न लागे ।
बिचरणको सम्मोहनमा पुगेको 
पंक्षिको आवाजमा,
करुणाको रुपक थियो ।
बगिरहेको खोलाको संगितमा,
कसैको स्वर थियो ।
म उनिहरुलाई हेरेर बाच्न थालें ।
छालहरु मलाई एकछिन सुन!
पंक्षिहरु एकछिन अडिएर हेर ।
दृश्यकाब्यमा रुमानि यादहरु तैरिंदै छन् 
बा थाकेका छन्
आलिको डिलैमा बसेर 
बक्यौताको हिसाब लगाउँदै छन् ।
बेहोरामा आमाको प्रेम
कुँदिएको रहेछ ।
जहाँ, 
चाँदिका प्रेमाक्षरहरु 
टल्किरहेका छन् ।
 यि हेर,
ममताको यौटा घेरा
रपौलो हुँदै छ ।


 बिस्तारै, 
बदलिएको आकाश बर्सिन लाग्यो ।
महाशागर बाष्पीएर झर्न थाल्यो । 
त्यति खेरै हो,
म भुगोलको परिधिमा बसेर 
अपनत्वको नक्षत्रमा
आफ्नोहरुको स्नेह खोजिरहेको थिंए ।


झरिले बाँकि चिट्ठि पढ्दै थियो । 
अल्झोमा,
आमाले ब्याकरण मिलाएकि थिईनन् ।
ब्याकरण नमिलेको ब्योहोरामा
सावाँ अक्षरहरुले 
चुलोका कथाहरु बोलिरहेका थिए ।
प्रेमका ईकारहरु अोकलिरहेका थिए ।
त्यहाँ,
चटारोका ब्यथाहरु टाँसिएका थिए ।
एकदम संग,
आमाको रुप्सीलो अनुहार,
चिट्ठिको अग्रभागमा हाँसिरहेको थियो । 
उनि देखाँउदै थिईन,
हेर त! 
दैलोमा तेरो चप्पल छुटेको छ ।