तिम्रो
प्रगाढ आँखा भित्र
लोभ्याउने सपना देखें ।
तिम्रो
पुलकीत ओठहरुमा
शनै शनै झरेको मुस्कान
अनौठो श्रृगांरमा,
सजिएको भान हुन्छ ।
तिमीलाई स्वागत गर्न
बसन्त ओर्लिएको छ ।
मुस्कानको पल्लब

ह्ृदयमा ठोक्कीएर
एउटा ध्वनी निकाल्दैछ ।
तर,
बयस्क बर्तमान
प्रलोभनको नजीर राख्दै
नमिठो मजाक गरिरहेछन् ।
नआत्तीनु छोरी
तिम्रो संसार सानो छैन ।
तिम्रो आमा,
तिम्रो बाबुको
ह्ृदयको प्रती ईन्च
तिम्रो हिफाजतमा मौजुद छ ।
अनुभुतीको सागरमा डुल
भाबनामा तैरिएर
आफ्नै लहरको जिबन बाँच ।
ताकी,
तिमी छोरी हौ ।
रुपान्तरणको अबिरल बेगमा
हतास नभई
अन्नत छोउ ।
तिम्रो आमा
तिम्रो बाबुको
ह्ृदयको प्रती ईन्च
तिम्रो हिफाजतमा मौजुद छ ।